चुनावी अभियान तय गर्दै नेकपा एस

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी अभियान तय गर्ने भएको छ ।

हिजोबाट बसेको केन्द्रीय समिति बैठक आज पनि जारी छ । बैठकमा एमसीसी अनुमोदन गर्नुपर्ने वाध्यताबारे प्रस्ट्याउँदै र आगामी चुनावी कार्ययोजना पारित गर्दै आज बिहीबार सक्ने तयारी छ ।

अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउँदै बैठक बिहीबारै सकिने नेता मेटमणि चौधरीले जानकारी दिए ।

बुधबार सुरु भएको सो पार्टीको बैठकमा अध्यक्ष नेपालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जसमा सात प्रदेशसहित नौ वटा समूहमा विभाजन गरेर प्रतिवेदनमाथि बुधबारबाटै छलफल भएको छ । नेता चौधरीकाअनुसार स्थायी कमिटी र पोलिटब्युरो सदस्य भने समूहगत छलफलमा सहभागी छैनन् ।

अध्यक्ष नेपालको प्रतिवेदनमा खासगरी एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यता, वर्तमान राजनीतिको विश्लेषण तथा आगामी चुनावबारे चर्चा गरिएको छ । सो पार्टीले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण पार्टी पंक्ति केन्द्रीत हुनेगरी कार्ययोजना बनाउने भएको छ ।

समाजवादीले आवश्यकताअनुसार माओवादी केन्द्र, काँग्रेस, जसपा र जनमोर्चासँग स्थानीय निर्वाचनमा ठाउँ हेरेर स्थानीय तहमै गठबन्धन गर्नेगरी सहकार्यको नीति बनाउने तयारी गरेको छ ।

  • २६ फाल्गुन २०७८, बिहीबार १३:३२ प्रकाशित