गण्डकी प्रदेशसभाको हिँउदे अधिवेशन आजबाट

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन फागुन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारीसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २६ बाट सुरु हुने गरि अधिवेशनको आव्हन गरे अनुरुप आज प्रदेश सभा बैठक बस्न लागेको हो ।

फागुन ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले फागुन २६ गतेका लागि प्रदेश सभाको बैठक आहन गर्न प्रदेश प्रमुख पृथ्वी मान गुरुङलाई सिफारीस गर्ने निर्णय गरेका थियो । गण्डकीमा असोज ५ गते बजेट अधिवेशन अत्य भएको थियो ।

एक अधिवेशनबाट अर्को अधिवेशनको बढिमा ६ महिना भन्दा फरक गर्न नपाईने कानूनी बाध्यतालाई टेकेर सरकारले अधिवेशन आव्हन गर्न प्रदेश प्रमुखलाई सिफारीस गरेको हो ।

आज बस्ने प्रदेश सभा बैठक ९ औं अधिवेशनको पहिलो बैठक हो । पहिलो दिन दलका शीर्ष नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

यो अधिवेशनमा प्रदेश सरकारले चार विधेयक पेश गर्ने तयारी गरेको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले यस अगाडि नैजानकारी दिएका छन् ।

हिँउदे अधिवेशनमा सरकारले पुराना कतिपय ऐन संशोधन गर्ने गरी संशोधन विधेयक पनि लैजाँदै छ । खानेपानी, सिंचाई, सूचनाको हक र केही कानुन संशोधन सम्बन्धी विधेयक सरकारले हिँउदे अधिवेशनमा लैजाने तयारी गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको र नेताहरुले संबोधन गर्ने कार्यतालिका तय भएको केन्द्रखबरलाई प्रतिक्रिया दिएका छन् ।

उनले केन्द्रको घटनाक्रमले प्रदेश सभालाई कुनै असर नगर्ने प्रष्ट्याए । ‘केन्द्रीय एजेण्डा केन्द्रमै सल्टाउने एजेण्डा हुन् । त्यसलाई हामी प्रदेश संसदमा प्रवेश गराउँदैनौं । आज दलका नेताहरुले बोल्ने कार्यतालिका छ । यहाँ नयाँ घटनाक्रम निर्माण भए छुट्टै हो, नत्र अहिले हामी बीच कुनै समस्या छैन,’ उनले भने ।

  • २६ फाल्गुन २०७८, बिहीबार ०९:१४ प्रकाशित