पोखराका देउकाजी ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय उपाध्यक्षमा लड्दै

केन्द्रभाग मिडिया

पोखरा ।
यतिबेला देशैभरका इन्जिनियरहरुलाई चुनाव लागेको छ । निर्वाचन मिति नजिकिंदै गर्दा उनीहरु आ–आफ्नों पक्षमा मत माग्न व्यस्त देखिन थालेका छन् । नेपाल ईन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन आउँदो शुक्रबार हुँदैछ । उक्त निर्वाचनमा पोखराका ईन्जिनियर डा. देउकाजी गुरुङ्गले केन्द्रिय उपाध्यक्षमा आफ्नों उम्मेदवारी दर्ता गराएका छन् । उनले ई.डा.सुरज लामिछानेको बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट चुनाव लड्न लागेका हुन् ।

पोखराका गुरुङ्ग थापाथलीस्थित ईन्जिनियरिङ क्याम्पसका उप–प्राध्यापक, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रिय उपाध्यक्ष, नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागका सदस्य, नेपाल भ्यालुएटर्स एशोसिएसनका सल्लाहकार, नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनका उपाध्यक्ष हुन् ।

यसबाहेक पनि अन्य थुप्रै संघसंस्थाहरु आवद्ध भएका उनले ईन्जिनियरिङको क्षेत्रमा लामो अनुभव बटुलिसकेका छन् । देउकाजी सम्मिलित समितिको महासचिवमा ई.डा.भेषराज थापा, उप–महासचिवमा ई.शिवराम केसी, कोषाध्यक्षमा ई.डा.आनन्द सिंह तथा सह–कोषाध्यक्षमा ई.अर्जुन पौडेलले चुनाव लड्दै छन् ।

गतवर्ष चैत २४ गते तोकिएको एसोसिन केन्द्रीय र प्रदेश समितिको निर्वाचन कोरोना महामारीका कारण पटक–पटक सारिँदै आएको थियो । यसअघि ७ माघमा गर्ने भनिएको निर्वाचन प्रक्रिया पुनः सरेर २७ फागुनलाई तोकिएको हो । एसोसिएसनमा आबद्ध देशभर २१ हजार ६ सय ८० जना मतदाताले निर्वाचनमा मतदान गर्ने छन् ।

  • २५ फाल्गुन २०७८, बुधबार १८:४५ प्रकाशित