एक मन्त्रालयमा चार पार्टीको हानथापः रक्षा मन्त्रालय आफैसँग राख्ने मुडमा देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक मन्त्रालयमा चार पार्टीले दाबी गरेपछि सकस परेको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि सत्तारुढ गठबन्धनभित्र हानथाप भएको हो। काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले नै उद्योग मन्त्रालय दाबी गरेका छन् ।

रक्षा मन्त्रालय आफैंसँगै राख्ने मुडमा रहेका देउवाले गठबन्धनभित्रको हानथापका कारण उद्योग मन्त्रालयमा समेत मन्त्री नियुक्त गर्न सकेका छैनन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार चार पार्टीले एक मन्त्रालयमा दाबी गरेपछि उद्योग मन्त्रालय नेतृत्वविहीन हुने पुगेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नाम जोडिएपछि असोज २२ मा मन्त्री भएका गजेन्द्र हमालले असोज २४ गते राजीनामा दिँदा उद्योग मन्त्रालय मन्त्री विहीन छ ।

यद्यपि हमालको राजीनामा दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । यस्तै काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा नराम्रो पराजय भोगेपछि मिनेन्द्र रिजालले पनि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले सम्हालेका छन् ।

देउवाले राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योगमन्त्री बनाउने चर्चा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तेजुलाल चौधरीको नाम देउवा समक्ष राखेका छन् ।

  • २५ फाल्गुन २०७८, बुधबार १६:१७ प्रकाशित