ओलीलाई विश्वप्रकाशको जवाफः ‘कमरेड ओली हरियो रङ्गसँग तर्सिनुपर्दैन, ढंग सच्याए हुन्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रंगसँग तर्सिन आग्रह गरेका छन् ।

ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ्गको चुनाव चिन्ह बनाउने निर्णय गरेपछि आपत्ति जनाएका थिए । सोही ओलीको आपत्तिमा जवाफ दिदैँ शर्माले कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि हरियो रङसँग पनि तर्सिन थालेको भन्दै नतर्सिन आग्रह गरेका हुन् ।

महामन्त्री शर्माले भने– ‘कमरेड केपी ओलीलाई मेरो भनाई के छ भने रङसँग डराउनुपर्दैन ढंग सच्याए हुन्छ । हरियो राख्ने कि निलो पहेँलो राख्ने कि बैजनी रङ राख्ने कि त्यो निर्वाचन आयोगको कुरा हो । हरियो रङसँग नै डराउने हैन सिद्धान्त र विचारसँग बहस गर्नुपर्छ । हरियो रङबाट तर्सिनु हुन्न । ‘पार्टी विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ’ भन्ने नयाँ उखान बनाउन भएन ।’

महामन्त्री शर्माले मतपत्र, चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा निर्वाचन आयोगको अधिकारको कुरा भएको उल्लेख गरे । सो विषय राजनीतिक दलको अधिकारको विषय नभएको उनले बताए ।

उनले विचार सिद्धान्तमा बहस गर्नुपर्ने कुरामा जोड दिए । शर्माले भने– ‘काँग्रेसको चुनाव चिन्ह चिन्ह हरियो नै हुन्छ । रुख पनि हरियो नै हुन्छ । हरियो नराख भन्नेहरु हरियोबाट डराउन भएन । आफ्नो ढंग सच्याउन र रङसँग नडराउ भन्न चाहन्छु ।’

  • २५ फाल्गुन २०७८, बुधबार १४:१५ प्रकाशित