आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः महिला हिंसा ज्यूँका त्युँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता स् दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्री र नेताहरूले पनि शुभकामना व्यक्त गरेका छन् ।

हरेक वर्ष महिला दिवस मनाउँदै गर्दा नेपाली समाजमा महिला माथि हुने हिंसा भने ज्युका त्यु देखिन्छ । हिसां विरुद्ध आवाज उठाउने महिलामाथि महिलाले नै हिलो छ्याप्ने काम तीव्र छ ।

बौद्धिक स्तरको वृद्धि भएपनि चेतनाको विकास भने अझै हुन सकेको छैन ।हालै एक चर्चित अभिनेताले नाबालिगमाथि यौनशोषण गरेको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अनेक थरीका टीकाटिप्पणी आइरहेका छन् ।

जसमा नाबालिगकै चरित्र हत्या गर्ने र उनलाई हतोत्साही बनाउने खालका टिप्पणी छन् । शोषण गर्ने नायकको पक्षमा महिलाकै ओइरो छ । वर्षौँसम्म होटलको कोठामा बसेर बनाएको सम्बन्ध एकाएक कसरी बलात्कारमा परिणत भयो भन्ने प्रश्न धेरैको छ ।यो घटनामा नाबालिग पीडित हुन् भनेर मान्नै तयार छैन । हिंसामा परे भनेर भन्न ठूलो साहस बोक्नुपर्ने अवस्था छ ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन यद्यापि कायमै छ ।

  • २४ फाल्गुन २०७८, मंगलवार ०९:१४ प्रकाशित