पर्वतमा बन्यो नेपालकै पहिलो सिसैसिसाको ‘स्काई ब्रिज’

केन्द्रभाग मिडिया

पर्वत ।

नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज आज सोमवारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन्।

उद्घाटनका क्रममा अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी नदी कुनै बेला बलेवा र कुश्मा बासीहरूका लागि अभिशाप बनेको भए पनि अहिले वरदान साबित भएको बताए । उनले कालीगण्डकी खोँचमा बनेका र बन्दै गरेका साहसिक पर्यटकीय खेलहरूले पर्वत मात्रै नभइ समग्र नेपाल नै साहसिक खेलको गन्तव्यका रूपमा विकास हुँदै गएको बताए ।

हार्नेस जिपलाइन प्रालि कुश्माले टिकटक पारखीहरूका लागि लक्षित गरेर देशमै पहिलो पटक स्काई ब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिन सक्ने गरी पुल बनेको छ ।

एकै पटकमा एक सय जनासम्मले स्काई ब्रिजको मजा लिन सक्ने बस्नेतले जानकारी दिए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘स्काई ब्रिज’ मा जानेहरूका लागि प्रतिव्यक्ति ३०० रुपैयाँ शुल्क तोकिएको छ।

  • २३ फाल्गुन २०७८, सोमबार १६:५६ प्रकाशित