माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, आज पदाधिकारीको टुंगो लाग्ला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारूढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आइतबार बस्न नसकेर सारिएको बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ । पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरू मनोनीत गर्नेलगायत एजेन्डा छन् ।

आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ । आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।

२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

महासचिवमा धेरै आकांक्षी भएपछि कुरा मिल्न सकेको छैन ।महासचिवमा पम्फा भुसाल, देव गुरुङ, जर्नादन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत मुख्य दाबेदार देखिएका छन् ।

पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरुले बार्गेनिङ बढाएका छन् । अर्कोतर्फ, आफू निकटस्थलाई संरक्षण गर्न पनि प्रचण्डका लागि वाध्यकारी अवस्था छ ।

  • २३ फाल्गुन २०७८, सोमबार ०९:५८ प्रकाशित