युद्धविरामको घोषणापछि पनि रुसी हमला जारीः युक्रेनले माग्यो अमेरिकासँग फाइटर जेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

युद्धविरामको घोषणापछि पनि रुसले युक्रेनमाथि रुसी हमला जारी राखेको छ । युक्रेनका २ सहर मारियुपोल र भोल्नोभाकामा मात्र युद्धबिराम गरिएको बताइए पनि मारियुपोलमा बमबारी भईरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन।

रुसले हमला नरोकेपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँग हतियार मागेका छन् । उनले अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनलाई फाइटर जेट दिन र रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

तर अमेरिकी संसदले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउने र युक्रेनमा हवाई प्रतिबन्ध लगाउनुपर्ने माग अस्वीकार गरेको बीबीसीले जनाएको छ । रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अत्यधिक बढ्ने र युक्रेनको आकाशमा हवाई प्रतिबन्ध लगाउँदा युद्ध विस्तार हुने अमेरिकाको भनाइ छ ।

रुसको तर्फबाट गरिएको युद्धबिरामको घोषणामा ‘जबसम्म यहाँ फसेका सर्वसाधारणलाई बाहिर निकालिँदैन तबसम्म आक्रमण गरिने छैन’ भनिएको छ ।तर युद्धविरामको घोषणापछि पनि रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ ।

रुसी सेनाले आधा घण्टाभन्दा पनि कम समयका लागि हमला रोकेर फेरि लगातार बमबारी सुरु गरेको युक्रेनी समाचार एजेन्सीहरुले बताएका छन् । मानिसहरुलाई बाहिर निकाल्न तयार गरिएको बसहरुमा पनि आक्रमण गरिएको बताइएको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज ११ औं दिन हो । युक्रेनको शहर इरपिनमा शनिबार रातभर पनि रुसले आक्रमण गरेको छ ।रुसी सेना राजधानी किएभतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् । उनीहरुसँग युक्रेनी सेना र स्वयंसेवक लडाकुहरुले प्रतिरोध जारी राखेका छन् ।

  • २२ फाल्गुन २०७८, आईतवार ०९:२० प्रकाशित