केन्द्रीय समितिलाई पूर्णता दिदैँ नेकपा माओवादी : यी नेताहरुले गर्न थाले बार्गेनिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पुन बस्दैछ ।

आजको बैठकमा पदाधिकारी चयन मुख्य कार्यसूचीमा रहेको छ । आठौँ महाधिवेशन सकिएको दुई महिना बितिसक्दा पनि पदाधिकारी चयन गर्न नसकेको माओवादी केन्द्रले आजको बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ।

गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर त्यस यता माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन ।

पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

महासचिवमा धेरै आकांक्षी भएपछि कुरा मिल्न सकेको छैन ।महासचिवमा पम्फा भुसाल, देव गुरुङ, जर्नादन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत मुख्य दाबेदार देखिएका छन् ।
पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरुले बार्गेनिङ बढाएका छन् । अर्कोतर्फ, आफू निकटस्थलाई संरक्षण गर्न पनि प्रचण्डका लागि वाध्यकारी अवस्था छ ।

अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन भएपछि अप्ठ्यारोमा परेका छन् । यही मुद्दालाई लिएर विरोधहरु उठेको छ ।प्रचण्डलाई विरोध मथ्थर बनाउन पनि विरोधीलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।

  • २२ फाल्गुन २०७८, आईतवार ०८:५१ प्रकाशित