सरकारका कारण राज्यका तीनवटै अंग विफल भए : नेम्वाङ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भएको बताएका छन् ।
शनिवार काठमाडौँमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार र संसद्ले केही काम गर्न नसकेको र अदालतलाई पनि सरकारले काम गर्न नदिएको बताए ।

उनले अहिलेको अवस्थामा संविधान बमोजिम चुनाव हुनुपर्ने र जनताले नै फैसला गर्ने भन्दै गठबन्धन दलहरू चुनावमा जान डराइरहेको धारणा राखेका छन् ।

आफूहरूले गल्ती गरेको भए निर्वाचनमा जनतामाझ शिर निहुराउन आफूहरू तयार रहेको भएपनि गठबन्धन दलहरू अझै पनि निर्वाचन सार्ने सोचमा रहेको उनले बताए । नेम्वाङले एमसीसी अनुमोदनका समयमा सरकारमा बस्ने दलहरूले दोहोरो चरित्र देखाएको आरोप समेत लगाए ।

उनले एमाले नेतृत्वको सरकारले गरेको असाधारण विकासप्रति डराएर षडयन्त्रपूर्वक सरकारबाट हटाएको तर्क गरेका छन् ।

  • २१ फाल्गुन २०७८, शनिबार १६:४५ प्रकाशित