नेता मीन विश्रवकर्मा भन्छन्, गठबन्धनका नाममा रुख छाडेर अरु चिन्नमा मत हाल्ने पक्षमा कांग्रेस छैन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहमा आवश्यकता अनुसार तालमेल हुन सक्ने भए पनि आफ्नो पार्टी घोषित रुपमा गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् ।नेपाली रेडियो नेटवर्कमा बोल्दै नेता विश्वकर्माले भने, “गठबन्धन सिद्धान्त र दर्शन होइन, रणनीति हो । राष्ट्रिय सरोकारका कार्यभार पूरा गर्न गठबन्धन बनेको हो । तर स्थानीय तह निर्वाचनमा औपचारिक रुपमा कुनै गठबन्धन हुँदैन । आवश्यकता अनुसार कहीँ कतै तालमेल गर्न सक्छ । साथीहरुको भनाइ रुख चिह्नमा मत दिइरहेकाहरुलाई अरु चिह्नमा मतदान गर्ने बानी नबसालौं भन्ने छ । यो कुरा जायज पनि छ ।”

संसद् विघटन गरेर अर्ली इलेक्सनमा जाने पूर्ववर्ती सरकारको गल्ती प्रधानमन्त्री शेरबहादुर देउवाले नदोहोर्याउने पनि बताए । उनले थपे, “सर्वोच्च अदालतको आदशे र संविधानको कार्यान्वयनका लागि संसद्लाई पूरा आयु दिनुपर्छ । बजेट पनि संसद्बाटै ल्याउनुपर्छ । तर यसो भन्दैमा निर्वाचनका लागि कांग्रेस तयार छैन भन्ने होइन । कांग्रेस चुनावबाट भाग्ने कुरा छैन ।”

नेपालमा उग्र वामपन्थीहरुले विकासमा सधैं अवरोध गरिरहेको उनले आरोप लगाए । नेता विश्वकर्माले भने, “एमसीसी अहिलेसम्म गरेका सम्झौतामा सबैभन्दा उत्कृष्ट छ । ऋण र ब्याज तिर्नु नपर्ने, उसको कुनै दबाब र प्रभाव नहुने, उसका ठेकेदार र कर्मचारी नआउने अनुदानलाई यसरी विकृत बनाउनुहुँदैन ।

नेपालका उग्र वामपन्थीहरुले त्रिभुवन विमानस्थल र अरुण तेस्रोमा पनि विरोध गरे । बनेपा सिन्धुली सडक बनाउँदा मात्र होइन, कर्णालीमा २२ वटा पुल बनाउँदा पनि विरोध गरे । यो प्रवृत्तिबाट जनता हैरान छन् । तिनलाई जनताले चुनावमा पक्कै मूल्यांकन गर्नेछन् ।”

अमेरिकाको ठाडो विरोध गर्न नसकेर उसले दिएको उपहारमा समेत विरोध भइरहेको आरोप उनले लगाए । कांग्रेस नेता विश्वकर्माले भने, “जब सज्जन सुत्छन्, तब दुर्जनको राज हुन्छ । अब सज्जनले दुर्जनको नियन्त्रण गर्नुपर्छ । दिन घाम झुल्कँदा दिन हुन्छ, चन्द्र झुल्कँदा रात हुन्छ । गाईलाई गधा हो कि के हो भनेर छलफल गर्नु अपमान होइन ? अमेरिका विरोध गर्न मन लागे सीधै गरे भइहाल्यो नि । उसले दिएको उपहारको किन विरोध गर्ने ?”

  • २१ फाल्गुन २०७८, शनिबार १०:५७ प्रकाशित