राजदूत नियुक्ति गर्दै देउवा : यी नेताको नाम चर्चामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राजदूत रिक्त रहेका मुलुकमा नियुक्तिका लागि गृहकार्य सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिका लागी छलफल थालेका हुन्। एमसीसी पारित भएपछि प्रधानमन्त्री देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएका छन् । देउवाले यस विषयमा परराष्ट्रमन्त्री डा।नारायण खड्कासँग पनि आन्तरिक छलफल थालेका छन् ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उपेन्द्र यादवलाई राजदूतको नाम मागेको बताइएको छ। परराष्ट्रमन्त्री नारायण खड्काका स्वकीय सचिव लीला भट्टराईकाअनुसार आगामी मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस तयारी भइरहेको छ ।

स्थानीय निर्वाचनमा चुनावी आचारसंहिता लाग्ने भएकाले अब केही दिनमै राजदूत नियुक्तिको प्रक्रिया अगाडि बढ्ने बताइएको छ।

नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग ९न्युयोर्क, जेनेभा र भियना० र ३० देशमा दूतावास छन्। कुल ३० वटा मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । उनीहरु १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ ।

राजनीतिक कोटाबाट १३ जना र परराष्ट्र सेवाबाट सात जनालाई राजदूत नियुक्ति गर्न लागिएको छ ।

राजनीतिक कोटाबाट राजदूतका लागि माओवादी नेता लीलामणि पोखरेल र पूर्वराजदूत लीलामणि पौडेल दौडमा छन् । यस्तै सभामुख अग्नि सापकोटाका छोरा रूपक सापकोटाको पनि चर्चा छ । यस्तै, एकीकृत समाजवादीबाट डा.युवराज संग्रौला, प्रमेश हमाललगायतको नाम चर्चामा छ । यस्तै परराष्ट्र सेवाबाट सहसचिवहरु लोकबहादुर थापा, निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, हरिश्चन्द्र घिमिरे, तेजबहादुर क्षेत्री, सुशीलकुमार लम्साल, तीर्थराज वाग्ले, डोरनाथ अर्याललगायतको नाम चर्चामा छ।

 चीन, श्रीलंका, दक्षिण कोरिया, म्यानमार, मलेसिया, डेनमार्क, इजिप्ट, ब्राजिल, साउदी अरेबिया, दक्षिण अफ्रिका, बहराइन, इजरायल, स्पेन, ओमान, अस्ट्रेलिया, कतार, बंगलादेश, जापान र भियनामा राजदूत नियुक्तिको तयारी भइरहेको छ ।

  • २० फाल्गुन २०७८, शुक्रबार १७:०१ प्रकाशित