राष्ट्रसंघमा १४१ मुलुक युक्रेनको पक्षमा उभिदा, तटस्थ बसे भारत र चीन

केन्द्रभाग मिडिया

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस(युक्रेन युद्ध जारी रहेका बेला न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो ।

राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको थियो । जसमा राष्ट्रसंघ महासभाका १९३ सदस्य देशमध्ये नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन् भने विपक्षमा पाँच देशले मतदान गरेका छन् ।

भारत, चीनसहित ३४ मुलुक भने मतदान प्रक्रियामा सहभागी भएनन् । यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए । रुससँग रणनीतिक सम्बन्ध रहेका यी मुलुक रुसलाई चिढ्याउने पक्षमा छैनन् ।

नेपालले भने यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा पनि युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्‍मा ४७ देश सदस्य छन् । अमेरिका र उसका गठबन्धनमा रहेका मुलुकले रुसको कडा विरोध गर्दै युक्रेनका पक्षमा वकालत गरिरहेका बेला नेपाल पनि सहभागी भएको हो ।

रुसी सेना युक्रेनविरूद्ध थप आक्रमक बन्दै गएको छ । सयौँ युक्रेनी सेना र सर्वसाधारणको हताहत भएको छ भने हजारौँ घाइते भएका छन् । रुसी सेनाले युक्रेनको राजधानी किभ, खेरसन र खार्किभ जस्ता ठूला शहर नियन्त्रणमा लिएको दाबी गरिसकेको छ ।

  • १९ फाल्गुन २०७८, बिहीबार ११:५७ प्रकाशित