आँधीखोलाको फूलबारी पुवाडाँडा सडक साढे चार करोडको लागतमा कालोपत्रे सम्पन्न

केन्द्रभाग मिडिया

स्याङ्जा

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाँडा कालोपत्रे सडकको निर्माण सम्पन्न भएको छ । सडक कालेपत्रेसहित ट्राफिक संकेतसमेत राखिएसंग एककार्यक्रमका बीच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले शनिबार एक कार्यक्रमका बीच सडकको उद्घाटन गरेका छन् ।

उक्त सडक निर्माण गर्न चार करोड ९९ लाख ९८ हजारको लागत अनुमान गरिएकोमा चार करोड ३१ लाखमा निर्मांण सम्पन्न भएको हो । श्री गिता÷श्री क्रियटिभ जेभी स्याङ्जाले सडक निर्माण कार्यको जिम्मा पाएको थियो । ठेक्का सम्झौता अनुसार पक्की नाली, ट्राफिक चिन्ह र रोड पेन्टिङ सहित २.७ कि मी सडक पिच गरिएको गाउँपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले गाउँपालिका केन्द्र देखि सबै वडा कार्यालयसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्ने नीतिअनुसार वडा नं ३ को वडा कार्यालयसम्म पुग्ने सडक निर्माण गरिएको जानकारी दिए । सडक निर्माणपछि स्थानीय जनतालाई ओहोरदोहोर गर्न सुविधा पुग्ने र स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफूल लगायतका कृषि उत्पादनहरू सजिलै बजार पहुँचमा पुग्ने साथै सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पुग्ने उनको भनाई छ।

कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताइन् । उनले विकास निर्माणका सवालमा जनसहभागिता अनिवार्य रहेकोले जनसहभागिता विनाको विकास सफल नहुने भएकोले स्थानीय जनताको सहभागिता जुटाएर अगाडी बढ्न जरुरी रहेको धारणा राखिन्।

आँधीखोला गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष विष्णु बहादुर खत्रीको अध्यक्षता सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा नं ३ का वडा सचिव बालकृष्ण पौडेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युबराज अधिकारी,कार्यपालिका सदस्य गुजेश्वरी क्षेत्री, वडा सदस्य बिन्दु वि क, हरिहर शर्मा, स्थानीय राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु लगायतले आफ्नो धारणा राखेका गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

  • १९ फाल्गुन २०७८, बिहीबार १०:२० प्रकाशित