पशुपतिनाथमा अब ई–पूजाः २५५ देखि २५ लाख सम्म शुल्क

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रविधिको विकाससगैँ पशुपति क्षेत्र विकास कोषले अब ई–पूजाको व्यवस्था गर्ने भएको छ। अनलाइन माध्यमबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था हुन लागेको हो । अनलाइन एप्लिकेशनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर विभिन्न प्रकारका पूजा गरिने प्रणाली सञ्चालन गर्न लागिएको हो ।

कोषले विश्वभर छरिएर रहेका हिन्दुधर्मावलम्बीहरुको पशुपतिनाथ प्रतिको आस्था र झुकावलाई मध्यनजर गर्दै विशेष अनलाइन पूजा सेवा सञ्चालन गर्न लागेको जनाएको छ । यो अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकार अनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

एमाले नेता योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला पशुपतिनाथको ई–पूजा एप्लिकेशनको उद्घाटन भएको र शिवरात्रिपछि यस्तो सेवा उपलब्ध हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले केही प्राविधिक कुरा मिलाएपछि छिट्टै पूजा सुरु गर्ने बताए ।

यो सेवा मार्फत पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने भक्तजनहरूले संसारको जुनसुकै स्थानबाट अनलाइन मार्फत बुकिङ गरेर पशुपतिनाथमा दैनिक रूपमा सञ्चालन हुने पूजा सजिलैसँग गराउन सक्ने कोषको भनाई छ ।

अनलाइनबाट बुकिङ गरिएको पूजाको सम्पूर्ण आवश्यक जानकारी तथा रसिद सम्बन्धित भक्तजनलाई इमेल मार्फत प्रदान गरिने र विशेष पूजाको प्रसाद विश्वको जुनसुकै स्थानमा कुरिएर गर्ने व्यवस्था समेत रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार १६:५६ प्रकाशित