चेतावनी दिँदै मैनालीले ओलीलाई भने, ‘एमसीसी ग्रिनेट हो, भलिबल ठानेर खेल्ने दुस्साहस नगर्नुस्’

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा मालेका महासचिव सीपीले एमसीसी परियोजनालाई ग्रिनेटको संज्ञा दिएका छन् । उनले यसलाई सत्तामा पुग्ने माध्यम नबनाउन एमालेलाई चेतावनी समेत दिए ।

पोखराको रेडियो बाराहीमा शनिबार विहान पत्रकार गोविन्द सुवेदीसंगको अन्तरवार्ताको क्रममा उनले यस्तो चेतावनी दिएका छन् । एमालेले एमसीसीलाई सत्तासंग सौदावाजी गरिरहेको उनको आरोप छ । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई म यही अन्तरवार्ताको माध्यमबाट भन्न चाहन्छु । उनले एमसीसीलाई भलिबल ठानेर सत्ता प्राप्तिको खेल खेलिरहेका छन् । भलिबल ठानेर हान्दा ग्रिनेट (एमसीसी) को पिन फुस्क्यो भने मैदान (देश)मा रहेका सबैको ज्यान गुम्ने हो । यस्तो कुरामा उनले ख्याल गरुन् र ग्रिनेटसंग नखेलुन्’ उनले भने ।

एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिका एक अभिन्न अंग रहेको भन्दै उनले कांग्रेसले एमसीसीको समर्थन गर्नुलाई उसको चरित्रसंग मेलखाने कुरा भनेका छन् । मैनालीले वीपीको समाजवाद विपरित कांग्रेसले एमसीसी बोकेको समेत आरोप लगाए ।

महासचिव मैनालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समजवादीका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले एमसीसीलाई राम्रोसंग बुझेको बताए । तर, यि नेता र पार्टीपनि सत्ता स्वार्थले गर्दा एमसीसी पास गर्न लाग्ने त होइनन् भन्ने संका कायम रहेको उनले बताए ।

सत्ता स्वार्थमा नलाग्न र एमसीसीको विरुद्धमा दरिलोगरी उभिन प्रचण्ड र माधव नेपाललाई जनताले खबरदारी सहितको साथ दिनुपर्ने उनको भनाई छ ।

 

  • १४ फाल्गुन २०७८, शनिबार ०८:३९ प्रकाशित