एमसीसी पास गर्न नयाँ विकल्पः पछि हटे माधव–प्रचण्ड, गठबन्धन नटुटाई पास गर्ने समझदारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमसीसीकै कारण गठबन्धन टुट्ने भएपछि सत्ता गठबन्धनका दुई पार्टी अडानबाट पछि हटेका छन् ।  संशोधन बिना एमसीसी पास गर्न नदिने अडान राखेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्तत् अडानबाट पछि सरेको स्रोतले बताएको छ।

सत्ता गठबन्धनबीच गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने सहमति बनेको बताइएको छ। एमसीसीकै कारण संकटमा परेको सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादी केन्द्रको निर्णयअघि नै शीर्ष तहमा एमसीसी पारित पनि गर्ने र गठबन्धन पनि नटुटाउने समझदारी बनेको छ ।

माओवादी बैठकबाट निस्किएका एक प्रभावशाली नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धन जोगाएरै एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच समझदारी बनेको छ ।

गठबन्धन तोडेरै एमालेको माग पुरा गरेरै भएपपनि एमसीसी पास गर्न देउवा कसिएपछि दुई पार्टी अडानबाट पछि सरेका हुन् । पछिल्लो केही दिन देखि एमाले अध्यक्ष ओली र देउवाबीच भेटघाट निकै बाक्लिएको थियो ।

यसअघि माओवादीले एमसीसीको विपक्षमा मत दिने भनेपनि माधव नेपाल लगायतका नेताहरुले गठबन्धन भत्कियो भने एमाले पुनः सत्तामा फर्किने र चुनावमा गठबन्धन पनि नहुँदा माओवादी र एसको अवस्था निकै कमजोर बन्ने देखाउँदै प्रचण्डलाई विपक्षमा मतदान गर्नबाट रोक्ने ठाउँमा पुर्‍याएको वार्तामा सहभागी नेताहरू बताउँछन् ।

एमसीसी पास गर्ने पक्षमा उपेन्द्र यादवको भूमिका प्रष्ट खुलिसकेको छैन । जसपाकै डा. बाबुराम भट्टराई पक्ष भने एमसीसीको पक्षमा मतदानको लागि तयार छ । स्रोतकाअनुसार आइतबार सदनमा एमसीसीमाथि सैद्धान्तिक छलफलसँगै पारित गर्ने तयारी छ ।

यो समझदारीलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरु बस्दैछन् ।संसदमा एमसीसीको पक्षमा हुन्छ भन्ने कांग्रेस, लोसपा र जसपाको बाबुराम भट्टराई पक्ष हुनेछ । विपक्षमा राप्रपा, नेमकिपा र राजमोका गरी तीन सांसदमात्र हुनेछन् । एमालेले सदनको कारबाही नै अवरोध गरिरहेकाले उसका सांसदलाई उपस्थित संख्यामा नगन्ने तयारी छ ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १५:०९ प्रकाशित