संसदअघि प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक किन डाकिएन ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

सामान्यतया संसद बैठक सञ्चालन पूर्व कार्यव्यवस्था समितिको बैठक बस्ने गरेपनि आजका लागि भने बैठक बोलाइएको छैन ।

आज बस्ने संसद बैठकका लागि संघीय संसदले प्रकाशन गरेको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तोकिएको छ ।

तर बैठक सञ्चालन पूर्व बैठक सञ्चालनबारे प्रक्रियाबारे छलफल गर्नुपर्ने बैठक नै नबसेका कारण प्रतिनिधि सभाको बैठक बस्नेमा अन्यौलता बढेको छ । बिहिबार पनि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर अन्तिम समयमा स्थगित गरिएको थियो ।

बिहीबार नै कार्यव्यवस्था समिति बैठक बसेकाले आजका लागि नराखिएको हुन सक्ने संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १२:२४ प्रकाशित