एमसीसीको साईड–ईफेक्ट : मार्गप्रशस्त गर्न सभामुखलाई कांग्रेसको प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं ।
एमसीसीलाई लिएर अहिलेको सत्तापक्षीय गठबन्धन भत्किने भएको छ । एमसीसी पास गराउनको लागि सहयोग नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को साथ खोजिसकेका छन् । यो बीचमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग धेरै पटक छलफल गरिसकेका छन् । आजमात्रै पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।

आजको छलफलमा भने पावर सेयरिङबारे सहमतिको खाका बनाउने काम भएको विश्वस्त सूत्रले जनाएको छ । एमालेले एमसीसीमा सहयोग चाहिएको हो भने पहिले सभामुखलाई हटाउनुपर्ने प्रस्ताव राखेको थियो । जसमा कांग्रेसका नेताहरुले सहमति जनाएको बुझिएको छ। अमेरिकाले यही फागुन १६ गतेभित्रै एमसीसी पास गराउनको लागि समयसिमा दिएको छ ।

प्रधानमन्त्री देउवाले जसरी पनि अमोरिकाले दिएकै समयसिमाभित्र एमसीसी पास गराउन चाहेका छन् । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आजको छलफललगत्तै गृहमन्त्री बालकृष्ण खाँणलाई सभामुख सापकोटासँग भेट्न पठाईएको छ । मन्त्री खाँणले सभामुख सापकोटालाई मार्गप्रशस्त गर्नको लागि आग्रह गरिने बुझिएको छ।

यदि सभामुखले राजीनामा नदिए महाभियोग वा अविश्वासको प्रस्ताव अघि सारेर हटाउने तयारी भएको कुरा मन्त्री खाँणले अग्रिम जानकारी दिने बुझिएको छ । तर, सभामुख सापकोटा भने कुनैपनि हालतमा पदबाट राजीनामा दिने पक्षमा छैनन् । हुन त सभामुखले एमसीसी संसद्मा टेबुल गर्न दिएपनि यसअघि उनको भूमिका भने संसदीय मर्यादाअनुरुप नभएको कांग्रेस नेताहरुको टिप्पणी छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार १७:५० प्रकाशित