संसद भवन घेराउ गर्दै प्रर्दशनकारी: पानीको फोहोरा हान्ने गाडीसहित सशस्त्र प्रहरी‘स्ट्याण्ड बाई’

केन्द्रभाग मिडिया

काठमाडौं ।

८ फागुनमा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसी आजबाट छलफलमा लगिँदैछ । सदनमा एमसीसीबारे छलफल हुनै लाग्दा संसद भवनबाहिर भने एमसीसीको विरोधमा प्रदर्शनकारी प्रर्दशन जारी राखेका छन ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी र एकीकृत समाजवादीनिकट भ्रातृ संगठनलगायतले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीको समूह संसद भवन घेराउ गर्न अगाडि बढिरहेको छ । संसद भवन वरपर जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ । केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए ।

अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार १३:३२ प्रकाशित