शेरबहादुरजीले गठबन्धन तोडेर आए एमालेले स्वागत गर्छ : एमाले नेता अधिकारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका नेता खगराज अधिकारीले होहल्लाका बीचमा एमसीसी लगेर संसद्मा तमासा गरिएको आरोप लगाएका छन् ।
हामी संसद्मा विरोधमा छौं । १४ जना गैरसांसदलाई कारबाहीको माग राखेर एमालेले महिनौंदेखि नियमित संसदीय प्रक्रियामा भाग लिएको छैन ।

अवरोध त उहाँहरुले गरेको हो । यस्तो बेला होहल्लाका बीचमा एमसीसी टेबुल गरेर भाँडभैलो उत्तानो थैलो गरिएको अधिकारीले आरोप लागाए । । प्रतिपक्षले राष्ट्रिय महत्त्व र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफल गर्न नपाउने स्थिति खडा गरिएको छ । प्रतिपक्षलाई पेलेर लोकतन्त्रलाई मासेर अदालतबाट उत्पति भएको सरकारले के तमासा गरेको हो ?”

एक रेडियो अन्तरवार्तामा अधिकारीले एमालेले एमसीसी पास गर्छु भनेर कहिले पनि नभनेको पनि दाबी गरे । अधिकारीले थपे, “कन्टेन्ट ठीक वा बेठीक जे भए पनि एमसीसी माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, प्रचण्डहरुले गरेका हुन् । हिजो नेकपा एमालेले पहिलेको सरकारको अविच्छिन्न उत्तराधिकारीका रुपमा भएकाले संसद्मा टेबल गरेको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा र सभामुख अग्नि सापकोटाले रोके । पार्टीमा किचलो झिके र फुटाइछाडे । हामीले कहिले पनि एमसीसीमा साथ दिन्छौं भनेको छैन ।”

पूर्वगृहमन्त्री समेत रहेका अधिकारीले एमालेमा भीम रावालको गाईजात्राले केही लछारपाटो नलगाउने बताए । उनले भने, “अहिले पनि वीर, बहादुरहरु एमसीसीका बारेमा अमेरिका सेना आएर बास बसिहाल्छ भन्दै लालपुर्जा देखाएर बसेका छन् ।

मुआब्जा नदिईकन जग्गा अधिग्रहण गर्ने ? हाम्रो प्राथमिकता प्रसारण लाइन भनेर छान्ने यिनै कुलमान घिसिङ र वर्षमान पुन होइनन् ? अमेरिकी सेना आउँछ चाहिँदो नचाहिँदो कुरा गरेर उत्तेजित भीम रावल रक्षामन्त्री थिएनन् र ? हाम्रो संविधानसँग बाझिन्छ कि बाझिँदैन हजुर, सैन्य सहायताका लागि प्रयोग गर्न पाइन्छ कि पाइँदैन हजुर भनेर सोधेका होइनन् र ? हिजो आफैं साइन गर्ने, आज आफै सोध्ने ? एमालेमा भीम रावलको गाईजात्राले केही लछारपाटो लगाउने वाला छैन ।”

शेरबहादुर देउवा गठबन्धन तोडेर आए एमालेले स्वागत गर्ने पनि उनले बताए । अधिकारीले भने, “शेरबहादुरजीले बेलैमा बुझ्नुभएछ भने राम्रो हुन्छ । हामी पनि एमसीसीका बारेमा बुँदाबुँदामा जान सक्छौं ।”

“हामीले अहिलेसम्म गठबन्धनले एमसीसी पास गर्न ल्याएको हो कि फेल ल्याएको हो, प्रस्ट भएको छैन । गठबन्धन हो कि एमालेविरोधी संयुक्त मोर्चा हो भन्ने पनि बुझेका छैनौं । तर गठबन्धन चक्रब्यूहमा फँसेको छ । भित्रभित्रै टाउकेहरु मिलेर खाने, तल कार्यकर्ता भड्काउने ? अनि एमालेले एमसीसीमा किन समर्थन दिने ? केका लागि समर्थन दिने ? ”

  • ११ फाल्गुन २०७८, बुधबार १४:२४ प्रकाशित