बृषेशचन्द्र लाल समूहले गर्‍यो लोसपा त्याग, तमलोपामा समाहित

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल परित्याग गर्दै वृषेशचन्द्र लालसहितका नेता तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेको छ ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले लोसपा परित्याग गरेको र तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपामा समावेश भएको बताएका छन् ।

लाल राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन् । लालसँगै संविधानसभा सदस्य एवं नेता डा. विजय कुमार सिंह, रामजी राय, धिरेन्द्रबहादुर सिंह, सतिश लाल दास, योगेन्द्र राय, उमेश मण्डल, ब्रजकिशोर सिंह, भोलानाथ झा, विन्दु देवी, राजकिशोर मण्डल लगायतले पनि लोसपा परित्याग गरेका छन् ।

नेतृत्व पंक्तिले जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेन्डालाई थाम्ने, गन्तव्यको दिशामा बोकेर अगाडि बढाउने सामर्थ्य देखाउन नसकेकाले पार्टी परित्याग गरेर तमलोपामा समावेश भएको नेता लालले बताए ।

मधेशका जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेश एजेन्डाप्रति प्रतिबद्ध राजनीतिक दल आवश्यक भएकाले नयाँ राजनीतिमा लागेको उनको भनाइ छ ।

  • १० फाल्गुन २०७८, मंगलवार १६:५२ प्रकाशित