आकासियो वैदेशिक व्यापार घाटा, सात महिनामा घाटा १० खर्ब नाघ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो सात महिनामा व्यापारघाटा आकाशीयको छ । यो अवधीमा नेपालमा व्यापार घाटा १० खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ । गत वर्ष यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोडको व्यापार घाटा थियो ।

यो वर्षको व्यापार घाटा गत वर्षको तुलनामा ३८.४५ प्रतिशतले बढी देखिएको छ । यो वर्ष ११ खर्ब ४७ अर्बको आयात र १ खर्ब ३१ अर्बको निर्यात भएको छ । सोहीकारण आयातले कुल वैदेशिक व्यापारमा ८९.७१ प्रतिशत हिस्सा ओगटेको छ । निर्यातको हिस्सा मात्र १०.२९ प्रतिशत छ ।
यस्तै चालु आर्थिक वर्षको अघिल्लो महिनासम्म ५० प्रतिशत भन्दा माथिको दरमा बढिरहेको आयात सातौं महिनापछि भने केही थामिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८÷७९ को सातौं महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांक अनुसार साउनदेखि माघसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ४२,७८ प्रतिशत बढी हो ।

माघ महिनामा मात्र १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात भएको छ । पुस मसान्तसम्म आयात ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ थियो ।सातौं महिनामा निर्यातको वृद्धिदर समेत केही कम भएको छ । पहिलो ६ महिनासम्म शतप्रतिशतले बढेको निर्यात सातौं महिनामा ८८.३० प्रतिशतले मात्र बढेको छ ।

यो अवधीमा मानव स्वास्थ्यमा प्रयोग हुने खोपको आयात उच्चदरमा बढेको छ । कोभिड–१९ महामारी रोकथामका लागि सरकारले ठूलो मात्रामा खोपको आयात गरेपछि सातमहिनामै उच्च आयात भएका १० वस्तुमध्ये ८ औं स्थानमा खोप परेको छ । यो वर्षको पहिलो सात महिनामा २६ अर्ब ८५ करोड ९ लाख ७६ हजार मूल्य बराबरको खोप आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

  • १० फाल्गुन २०७८, मंगलवार १६:०८ प्रकाशित