फेवा महोत्सवका पाहुनालाई छुटको घोषणा

केन्द्रभाग मिडिया

हेटौंडा।

आगामी चैत २९ देखि बैशाख १ गतेसम्म पोखरामा आयोजना हुने फेवा नव बर्ष महोत्सबलाई लक्षित गरी प्रदान गरिने छुट बारे होटल संघ पोखराले जानकारी दिएको छ ।

आइतबारबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेश्रो दिन मंगलबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा छुट सम्बन्धी घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुबेदीले महोत्सवका पाहुनालाई होटलका कोठामा ३० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे । कोभिड १९ बाट प्रभावित पर्यटनलाई पुनर्जागृत गर्न पोखराका विभिन्न पर्यटकीय सेवा सुविधामा विभिन्न क्षेत्रका व्यवसायीले ३० देखि ५० प्रतिशत छुट दिदैँ आएको स्मरण पनि अध्यक्ष सुबेदीले गराए ।

आन्तरिक पर्यटककै कारण पर्यटन क्षेत्रले राहात महसुस गरेको भन्दै उनले विगतमा ३ प्रतिशत हाराहारीमा रहेको आन्तरिक पर्यटक आगमन अहिले पोखरामा ४० प्रतिशत पुगेको जानकारी दिए ।

अभियानका संयोजक एबं संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने यथार्थ स्थापित गराउन अभियानले सफल भएको बताए ।

होटल क्षेत्रमा खरबौं रुपैयाँको लगानी रहेको स्मरण गराउँदै तुलाचनले त्यसको सुरक्षाका लागि पनि आन्तरिक पर्यटन पुनस्स्थापनको लक्ष्यसहित अभियान संचालन गरिएको अवगत गराए । विदेशी पर्यटकको हकमा हालका दिनमा केही सोधपुछ मात्र हुने गरेको तर बुकिङ नआएको अध्यक्ष तुलाचनले जानकारी दिए ।

सो अवसरमा प्रमुख अतिथि एबं होटल संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले जाउँ है पोखरा अभियानले व्यवसायीहरुमा उर्जा थप्ने काम गरेको भनाई राखे । मकवानपुरका पर्यटकीय सम्पदाका बारेमा समेत अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

संघका सल्लाहकार एबं होटल संघ नेपालका केन्द्रीय सदश्य भरतराज पराजुलीले जाउँ है पोखरा अभियानले नेपालीमा घुम्ने संस्कृतिको विकास गरेको र आपसी भाइचार अभिवृद्धि गरेको बताए ।

पोखरामा केबलकार, विशाल शिव मुर्ती, बन्जी जम्पिङ, जिपफ्लाइङ लगायतका नयाँ पर्यटकीय सम्पदा थपिएको जानकारी पनि पराजुलीले कार्यक्रममा जानकारी गराए । नेपाली संस्कृतिको जगेर्ना गर्ने इद्धेश्यले फेवा नवबर्ष महोत्सव आयोजना गरिएको भन्दै पराजुलीले महोत्सवमा सहभागिताका लागि मकवानपुरवासीलाई आमन्त्रण गरे ।

कार्यक्रममा उद्धोग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्धोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र यातायात ब्यबसायी सरोज खनाल लगायले भनाई राखेका थिए ।

कार्यक्रममा दुई दशक अघि सुरु भएको जाउँ है पोखरा अभियानका परिकल्पनाकार एबं होटल संघ नेपालका केन्द्रीय सदश्य विप्लव पौडेलको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन आयोजक संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

फागुन ८ देखि ११ सम्म संचालन हुने कार्यक्रमले बुटवल, हेटौंडा, विरगंज र चितवनलाई समेटेको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम भएको हो ।

  • १० फाल्गुन २०७८, मंगलवार १५:४२ प्रकाशित