रामशरण महतले भने,‘एमसीसी पास नगरे ‘महाराष्ट्रघात’ हुन्छ

केन्द्रभाग मिडिया

काठमाडौं ।

काँग्रेस नेता डा रामशरण महतले एमसीसी सम्झौता संसदबाट पास नगरे राष्ट्रघात हुने जिकिर गरेका छन् ।

काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङकै लागि बोलाइएका महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताएका हुन् । काँग्रेसले सांसद नभएपनि पूर्वअर्थमन्त्री महतलाई बैठकमा एमसीसीबारे प्रष्ट पार्नका लागि बोलाएको थियो ।

महतले एमसीसीबारे अनेकन भ्रम सिर्जना गर्ने काम भएको पनि बताए । ‘एमसीसी पास नगर्ने कुरा महाराष्ट्रघात हुन्छ । एमसीसीका सन्दर्भमा झूट र भ्रम सिर्जना गरिएको छ’, उनले भने, ‘यसलाई चिर्दै एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन ।’

उनले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर शक्तिराष्ट्रसँग सम्बन्ध बिगार्न नहुनेमा पनि जोड दिए । ‘यसमा सरकार र काँग्रेस गम्भीर हुनुपर्छ । अमेरिकासँग सम्बन्ध बिगारेर राम्रो हुँदैन’, उनले बैठकमा भने, ‘संसदको यही अधिवेशनले पारित गर्नुपर्छ । फागुन १६ भित्र पारित गरिसक्नुपर्छ ।’

  • ३ फाल्गुन २०७८, मंगलवार १४:३० प्रकाशित