सवारी चालक अनुमतिपत्र लिन गण्डकीमा नयाँ निर्देशिका लागु, यस्तो छ मापदण्ड

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा सवारी चालक अनुमति लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागु गरिएको छ ।

निर्देशिका लागु भएसंगै यो महिनाको सुरु अर्थात १ फागुन देखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशीका २०७७ (संसोधनसहित) अनुरुप उत्तीर्ण हुनुपर्ने छ । कार्यविधिमा परीक्षार्थीहरुले उत्तीर्ण हुन लिखितमा ६० प्रतिशत र प्रयोगात्मक परीक्षामा न्युनतम ७० प्रतिशत अंक ल्याउनुपर्ने उल्लेख छ ।

सवारी चालक अनुमति पत्र लिनका लागि नयाँ निर्देशिका अनुरुपको मापदण्ड लागु गरिएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेशका प्रमुख प्रेम सुवेदीले जानकारी दिए । ‘गण्डकीमा नयाँ मापदण्डको सुरुवात भएको छ । १ फागुन देखि निवेदन दिने सेवाग्राहीले नयाँ मापदण्ड अनुरुपको परीक्षा उत्तीर्ण गरेर मात्र सवारी चालक अनुमति पत्र प्राप्त गर्न सक्नुहुन्छ’ उनले भने

गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुरुप नयाँ मापदण्ड लागु गरिएको हो । यातायात व्यवस्था कार्यालय गण्डकी सवारी चालक अनुमति पत्रले सोमबार सूचना जारी गरेरै यससम्बन्धमा जानकारी दिएको छ ।

सूचना अनुसार यस मापदण्ड अनुरुपको पहिलो लिखित परीक्षा ६ फागुनमा र पहिलो प्रयोगात्मक परीक्षा ८ फागुनमा हुने छ । प्रयोगात्मक परीक्षा साविककै स्थानमा हुने कार्यलयका सूचना अधिकारी नारायण प्रसाद बाँस्तोलाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

 

  • ३ फाल्गुन २०७८, मंगलवार ०८:१७ प्रकाशित