एमसीसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरेः इश्वर पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागि परेको बताएका हुन् । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप समेत लगाए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए । उनले जनताको बीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘राजनीतिक ढंगले अनेक खालका दूभाग्यपूर्ण विवादहरु देखिरहेका छौं हामीहरु । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरुमा विकृति आयो भने समाजमा पनि विकृति बढछ । राजनीतिक पार्टीका नेता यता हेर्‍यो यतैका कुरा, उता हेर्‍यो उताका कुरा, ऊ पर हेर्‍यो, परका कुरा गर्ने खालका भएभने त्यो फट्याईबाट समाज आक्रान्त हुन पुग्छ । यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ ।

राजनीतिक पार्टीका मान्छेहरुले जे जनताको हितमा, देशको हितमा हुन्छ । त्यो सही कुरा बोल्ने सामथ्र्य राख्नुपर्दछ । नत्र भने यता गयो यताका कुरा, उता गयो उताका कुरा गर्ने चरित्र देखायो भने त्यसले नोक्सानी हुन्छ । जो अहिले हामी देख्दैछौं, भोग्दैछौं । विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा ।

जनतासँग गयो अर्कै कुरा । यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन । जो दूर्भाग्यपूर्ण कुरा हो । यस्तो हुनु हुँदैन । त्यसकारणले हामी राजनीतिक पार्टीका मान्छेहरु पनि जनताको निगरानीमा बसिराख्यौ भने हामीबाट भूलचुक हुन कमी हुन्छ । भूलचुक हुँदैन । भईहाल्यो भने थोरै होला, सच्याउन सकिन्छ । तर जनताको निगरानीमा बसिएन भने अनि कमजोरीहरु हुन्छन ।’

  • २९ माघ २०७८, शनिबार १४:०५ प्रकाशित