पोखरा महानगरले विकास भन्दा कमिसनमा जोड दियो : कांग्रेस (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको नेतृत्व माथि विकास भन्दा पनि कमिसन खाने ध्याउन्नमा लागेको आरोप लगाएको छ । शुक्रबार सुरु महानगरको १० औं नगरसभामा बोल्दै महानगरमा कांग्रेसका सचेतक एवं वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले महानगरले करको दायरा भन्दा कमिसनको दायरा बढाएको आरोप लगाए । साथै उनले विकासमा भन्दा पनि कमिसनमा जोड दिँदा समस्या आएको औल्याए ।

पोखरा बसपार्क निर्माणमा महानगर नेतृत्वले ध्यान नदिएको तर, सेति गर्जेज र पाताले छाँगो लगायतका सम्पदा ठेक्कामा लगाएर कमिसन लिन महानगर उद्यत भएको उनको गम्भिर आरोप छ । ‘महानगरले विकास भन्दा कमिसनमा जोड दिएको छ ।

पोखरा बसपार्क बनाउने कामलाई अगाडि बढाइएन तर, सेतीको रामघाट होस वा पाताले छाँगोलाई भाडामा लगाएर कमिसन खाने ध्याउन्नमा लागेको देखियो ।’ उनले भने, ‘त्यसैगरी महानगरले करको दायरा बढाउनुको सट्टा कमिसनको दायरा बढाएको छ । ७० प्रतिशत करको दायरा बाहिर छन् । महानगरले ३० प्रतिशतलाई मात्र करको दायरामा ल्याएको छ र उनीहरुलाई चर्को कर लगाएको छ ।’

महानगर नेतृत्वले स्मार्ट सिटीको नारा दिएर कुरुप सिटी बनाइएको उनले बताए । सहरका मुख्य चोकहरुमा फोहोर थुप्रिने गरेको, उनले महानगर नेतृत्वलाई लगाएका छन् । स्थानीय तहमा निर्वाचित सबै सत्ता पक्ष रहेको मानिने भएपनि पोखरा महानगरमा भने एमाले र कांग्रेसले आफ्नो दलको सचेतक नै तोकका छन् । यसलाई महानगरले समेत मान्यता दिएको छ ।

  • २८ माघ २०७८, शुक्रबार २१:३७ प्रकाशित