एमसीसी पास नभए संबन्ध विग्रने अमेरीकाको चेतावनी, दबाबमा सत्ता पक्ष र प्रतिपक्षी नेता

केन्द्रभाग मिडिया

काठमाडौं ।
एमसीसी जसरीपनि संसदबाट पास गर्न अमेरीकाले नेपाली नेताहरुलाई चेतावनी दिएको छ । एमसीसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुलाई चेतावनी दिएका हुन्।

उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गर्दै उक्त सम्झौता संसद्‍बाट अनुमोदन गर्न पनि आग्रह गरेका छन् । फेब्रुअरी २८ सम्म यदी नेपालले एमसीसी सम्झौता अनुमोदन नगरेमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने उनको भनाइ थियो ।एमसीसी उपाध्यक्ष फातिमा सुमारको प्रतिक्रिया आएपछि अमेरिकी मन्त्रीले टेलिफोन गरेका हुन् ।

नेपालका शीर्ष नेताहरूलाई वासिङ्टनबाट सिधै फोन गरेर उनले एमसीसी सम्झौता नेपालको प्रतिनिधि सभाबाट अनुमोदन हुनबाट रोकेर फिर्ता पठाउन चीनले नेपाली नेताहरूमार्फत खेलिरहेको आरोप समेत लगाएका छन् ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने अन्तिम कसरत अन्तर्गत अमेरिकाले यस्तो आरोप लगाएको हो । अ‍ेमेरिकी मन्त्रीको फोनसंगै नेपाली नेताहरु झनै दबाबमा परेका छन् । उनीहरुले अरु देशको सल्लाहमा नभएर नेपाल आफैँले एमसीसीबारे निर्णय गर्ने जवाफ दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भएकै बेला सम्झौता अनुमोदन गराउन वासिङ्टनबाट अमेरिकी मन्त्री र एमसीसीका अधिकारीहरूले नेपालका शीर्ष नेताहरूलाई सिधै फोन गरेर यस्तो दबाब दिएका हुन् ।

एमसीसीका उपाध्यक्ष फतिमा सुमार र काठमाडौँस्थित अमेरिकी राजदूत रेन्डी बेरीको पहलले नपुगेपछि बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लूले सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वासिङ्टनबाट फोन गरेर एमसीसीबारे अन्तिम निर्णय लिन दबाब दिएका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री देउवासँग फोनमा सहायक मन्त्री लूले फेब्रुअरी अन्तसम्म संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुने बताएका थिए । कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री देउवाले आफु एमसीसी अनुमोदन गर्न प्रतिबद्ध रहेको र गठबन्धनका नेताहरूलाई पनि मनाउने प्रयास गरिरहेको जवाफ दिएका थिए।

लूसँग भएको करिब १० मिनेटको कुराकानीमा अध्यक्ष प्रचण्डले आफुहरू एमसीसी अनुमोदन गर्ने पक्षमै रहेको तर राष्ट्रिय सहमति आवश्यक पर्ने जवाफ दिएका थिए । ‘अमेरिकासँग हाम्रो सम्बन्ध पुरानो हो र हामी एमसीसी अनुमोदन गर्ने पक्षमा नै छौँ’, प्रचण्डले मन्त्री लूलाई भने, ‘तर यसबारेमा राष्ट्रिय सहमति आवश्यक छ, हामी चुनावको प्रक्रियामा पनि प्रवेश गरेकाले अलि समय लाग्न सक्छ।’ उनलाई उदृत गर्दै एक नेताले भनेका छन् ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार विदेशमन्त्री लुले ओलीलाई ‘एमसीसी तपाईंहरु सबै मिलेर पारित गर्नुहोस् भनेर आग्रह गरेका थिए । ‘ुपारित नगर्दा अप्ठेरो पर्छ सहमति भईसकेको विषयमा अलमल नगरिकन तपाईंहरुले पारित गर्नहोस् । त्यसो गर्नु नै नेपाल अमेरिका सम्बन्धका लागि राम्रो हुन्छ‘ लुले ओलीसँग राखेको भनाई उल्लेख गर्दै भट्टराईले भने ।

  • २८ माघ २०७८, शुक्रबार ०७:२१ प्रकाशित