आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक स्थगित भएको जनाइएको छ ।

सूचनामा भनिएको छ, ‘माघ २६ गते बुधबार दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम फागुन २ गते सोमबार दिउँसो १ बजे बस्ने व्यवहोरा सूचना प्रकाशित गरिएको छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाएका थिए । सभामुखले पनि माहोल राम्रो नभएको भन्दै टेबुल नगर्ने अडान लिइरहेका छन् । यही विवादलाई पन्छाउन सभामुखले बैठक स्थगित भएको हो ।

  • २६ माघ २०७८, बुधबार ०९:२७ प्रकाशित