प्रम देउवालाई ‘होली वाइन सम्मेलन’को निम्तो : सहभागी होलान् त देउवा ?

केन्द्रभाग मिडिया

दक्षिण कोरियास्थित युनिफिकेशन चर्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई होली वाइन सम्मेलनको निम्तो दिएको छ। कोरियाको राजधानी सौलमा एक सातापछि हुन लागेको होली वाइन सम्मेलनमा सहभागिताका लागि उक्त चर्चले निम्तो पठाएको छ।

युनिभर्सल पिस फेडेरेशनले कम्बोडिया सरकारसँग मिलेर फेब्रुअरी १२ देखि १४ सम्म आयोजना गर्न लागेको सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्तो आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवा उक्त सम्मेलनमा सहभागी हुने, नहुने टुंगो लागेको छैन।

युनिभर्सल पिस फेडरेशन युनिफिकेशन चर्चले २०७५ मंसिर १४ देखि १५ सम्म नेपालमा विवादास्पद एसिया प्यासिफिक समिट गरेको थियो। उक्त समिट ‘होली वाइन सम्मेलन’ को नामले विवादमा आएको थियो।

उक्त कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य सहभागी हुने तय भए पनि विवादमा परिने डरले अन्तिम क्षणमा सहभागी भएनन्।

तर तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएर विवादमा परेका थिए। उनीमाथि उक्त सम्मेलन आयोजना गर्न भूमिका नै खेलेको आरोप लागेको थियो।

  • २५ माघ २०७८, मंगलवार १५:१६ प्रकाशित