पोखरा उद्योग वाणिज्य संघ स्थापनाको ६८ औं वर्षमा प्रवेश

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघ आजबाट ६८ औं वर्षमा प्रवेश गरेको छ । २०११ साल माघ २५ गते पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको थियो । अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष थिए । व्यवसायीको हक–हित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा भने सामाजिक संस्थाको रुपमा क्रियाशिल रह्यो ।

संघका पूर्वअध्यक्ष सुरेशराज राजभण्डारीका अनुसार गाउँबाट सहर बन्दै गरेको पोखरालाई आवश्यक पर्ने पूर्वाधार निर्माण,सामाजिक जागरण र शैक्षिक संस्था स्थापनाको लागि संघले नै अगुवाइ लियो ।

‘सहरीकरणको दिशामा वामे सर्दै गरेको पोखरालाई समन्नुत बनाउने काम संघले नै गरेको हो’,उनले भने,‘शिक्षाको क्षेत्रमा गरेको योगदान त अतुलनीय नै छ ।’ पोखराको पृथ्वीनारायण क्याम्पसदेखि पोखरा विश्वविद्यालय संघकै पहलमा स्थापना भएका हुन् ।

पूर्वअध्यक्ष राजभण्डारीले पोखराका पुराना सबैजसो शैक्षिक संस्था स्थापनामा आर्थिक सहयोग गरेको जिकिर पनि गरे । सिद्धार्थ र पृथ्वी राजमार्ग, महेन्द्रपुल तथा पोखरा सभागृह निर्माणमा पनि संघले आर्थिक सहयोग गरेको थियो ।

संघका अर्का पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि लविङ तथा लामो अनसनको नेतृत्व गरेको स्मरण गर्दै भने,‘पोखरा उद्योग वाणिज्य संघले ६८ वर्षे यात्रामा व्यवसायीको हकहितभन्दा सामाजिक कामलाई नै महत्व दियो र आफूलाई जेठो सामाजिक संस्थाको रुपमा उभ्यायो ।’

संघका वर्तमान अध्यक्ष नारायण कोइरालाले अनुसारसंघ/संस्था खोल्न बन्देज भएको पञ्चायतकालीन समयमा जनताको आवाज बोल्ने संस्था नै पोखरा उद्योग वाणिज्य संघ भएको जिकिर गरे ।

‘हाम्रा अग्रजहरुले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गर्दै सोही अनुरुपका गतिविधि बढाउनु भएको थियो’,उनले भने,‘पोखरा अहिले त्यही रुपले अगाडि बढेकोमा हामी गौरवान्वित छौँ ।’ देशमा जनप्रतिनिधि नहुँदा संघले नै जनप्रतिनिधिको रुपमा काम गरेको जिकिर गर्दै उनले भने,‘पोखराको फुटपाथमा भएको अनधिकृत व्यवसाय हटाउँदा होस् वा बजार व्यवस्थापन नै किन नहोस् संघले जनप्रतिनिधिको भूमिका पनि निभाएकै हो ।’

स्थानीय तहमा जनप्रतिनिधि आएपछि भने व्यावासायिक वातावरण निर्माण एवं विकास साझेदारको रुपमा काम गर्दै आएको उनले बताए ।

‘अहिले हामी व्यावसायिक वातावरण निर्माण, व्यवसायीहरुको प्रतिष्पर्धी क्षमताको विकास र हक–हित संरक्षणमा केन्द्रीत भएका छौँ’,उनले भने,‘विकासका मुद्दाहरु उठाउन तथा तीनवटै तहका सरकारसँग लविङ एवं साझेदारीको परम्परा भने कायमै छ ।’

उनले समुन्नत पोखरा बनाउने दायित्वबाट संघ विचलित नहुने पनि बताए । पछिल्लो समय कोभिडका कारण व्यवसायीले भोग्नुपरेका समस्या समाधान,सरकारद्धारा घोषित राहतका कार्यक्रम कार्यान्वयनको लागि दवाव एवं आपतमा परेका व्यवसायीको सहयोगजस्ता कार्यक्रम संचालित रहेको उनले बताए ।

कोभिडका कारण एकातिर सदस्य प्रतिष्ठानको व्यापार/व्यवसाय चौपट भएको र अर्कोतर्फ संघका घोषित कार्यक्रम पनि रोक्नुपरेको उनले दुखेसो पोखे ।

 

  • २५ माघ २०७८, मंगलवार ०७:५९ प्रकाशित