कांग्रेसमा घात प्रतिघात गर्नेलाई ठाउँको ठाउँ कारबाही : उपसभापति गुरुङ (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस नेतृत्वका वर्तमान सरकारले विगतमा भएका ठूलठूला भ्रष्टाचारको छानविन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । व्यवस्था परिवर्तनका लागि ज्यान उत्सर्जन गर्ने सहिदको बलिदानलाई लोकतन्त्रमा भ्रष्टाचारको पच्छ्यौरीले छोप्ने कार्य नसुहाउने भन्दै उनले भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

‘सहिदको सपनालाई भ्रष्टाचारको पच्छ्यौरीले छोप्नु हुँदैन । ठूल ठूला भ्रष्टाचारका फाइल अख्तियारको दराजमा थन्क्याएर लोकतन्त्र बलियो हुन सक्दैन,’ उनले भने, ‘हिजो अनुन्धान नभएर के भयो । आज कांग्रेसले यसको अनुन्धान अगाडि बढाउनु पर्छ । तवमात्र कांग्रेस लोकतान्त्रिक भएको ठहर्छ । लोकतन्त्र बलियो हुन्छ ।’

उपसाभापति गुरुङले निर्वाचनमा बनेका प्यानल अब भत्किएका भन्दै सभापति र आफू अनि निर्वाचित सबैको अब कुनै प्यानल नरहेको र सबै पार्टीको भएको धारणा राखे । कांग्रेसमा अब घात प्रतिघात नचल्ने भन्दै यस्तो गर्नेलाई ठाउँको ठाउँ कारबाही हुने उनले बताए ।

कार्यक्रममा पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य सरेन्द्र पाण्डे, कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा, पूर्व केन्द्रीय सदस्य अर्जुन जोशी लगायतका नेताहरुले बोलेका थिए ।

नेपाली कांग्रेसले सात वटा प्रदेश मध्ये गण्डकीमा सबैभन्दा पहिले पार्टीको प्रदेश कार्यालय स्थापना गरेको दाबी गरिएको छ । कार्यालय उद्घाटन कार्यक्रममा सहिद क्या.यज्ञबहादुर थापाको जिवनी लेखिएको पुस्तक समेत विमोचन गरिएको थियो । रेवतीरमण सुवेदीले उक्त किताव लेखेका हुन् ।

  • २३ माघ २०७८, आईतवार १६:२४ प्रकाशित