सेती नदी जलविद्युत आयोजना निर्माणको ४० प्रतिशत काम पूरा

केन्द्रभाग मिडिया

पोखरा ।
सेती नदी जलविद्युत आयोजना निर्माणको काम ४० प्रतिशत पूरा भएको छ । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीको मछापुच्छ«े गाउँपालिका २ सार्दिखोलाको भराभरीमा निर्माण गरेको गर्ने उक्त आयोजनामा हालसम्म भौतिक निर्माणको काम ४० प्रतिशत पूरा भएको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोख्रेलले जानकारी दिए ।

गत एक साउन देखि सम्झौता लागु भएर २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढेको उनले बताए । अब अब १४ महिना भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने उनले बताएका छन् ।

उनका अनुसार आयोजनाको शुरुआतमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) निर्माणको काम धेरै अगाडि बढेको छ । पोहोर माघ देखि नै काम सुरु गरिएको उक्त आयोजनाको काम कोरोना कहरले भने केहि प्रभावित भएको थियो ।

यसैविच शनिबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जिवनले आयोजनाको अवलोकन गरेका छन् । उनले आयोजनाको अवलोकन गर्दै यस्ता खालका आयोजनाले प्रदेशमा उर्जा उत्पादनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पाँच अर्ब लागत, २५ मेगावाट विद्युत उत्पादन

सेती नदी जलविद्युत निर्माणका लागि पाँच अर्व रुपैयाँ खर्च लाग्ने छ । रन अफ रिभर प्रणालीमा निर्माण हुने उक्त आयोजनाको सेती नदीमा ड्याम पाँच मिटर उचाई र १३ मिटर लम्बाईको बन्ने छ ।

चार सय मिटर लम्बाईको एप्रोन प्लान्ट र ६० मिटर लम्बाई र २४ मिटर चौडाइएको सेटलिङ बेसिन निर्माण हुनेछ । त्यसपछि ६ किलोमिटर तल चिन्ते बगरमा बन्ने पावर हाउसमा १८७ मिटर उचाइबाट पानी खसालिनेछ ।

पावर हाउमा १२.५ मेगावाटका दुई वटा टर्वाइन जोडिने छ । वर्षादको समयमा दुई वटै टर्वाइनबाट विद्युत उत्पादन हुने र हिँउदमा पानी कम भएका बेला एउटामात्र टर्वाइन चलाइने छ आयोजना प्रमुख इ. लेखनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार यसरी उत्पादित विजुली चार किमी दूरीमा रहेको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम स्वपुँजीका रुपमा लगानी हुनेछ ।

आयोजनाले उत्पादन गरेको विद्युत वर्षायाममा छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ ।

 

  • २२ माघ २०७८, शनिबार १८:४६ प्रकाशित