नजिकिँदै कांग्रेस-एमाले ! के होला सत्ता गठबन्धन ?

केन्द्रभाग मिडिया

पोखरा ।
अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌मा पेस र पारित गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक पहल लिएपछि मुलुकको राजनीतिक वृत्त अर्को एक पटक तरंगित बनेको छ ।

यहि एजेण्डाका कारण सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजिकिन पुगेका छन् भने, सत्ता गठबन्धन दलहरुमा खटपट देखिएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशनले नै एमसीसी यथास्थितिमा पास नहुने प्रस्ताव पारित नै गरेको छ ।

नेकपा एकीकृत समाजवादीले पनि यथास्थितिमा एमसीसी पास गर्न नहुने धारणा बाहिर ल्याएकै छ । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चा संसोधन गरेरपनि एमसीसी पास गर्न नहुने पक्षमा छ । जनता समाजावादी पार्टीमा एमसीसी यही अवस्थामा अगाडि बढाउने र सबैको सहमतिमा अगाडि बढाउने भन्ने विमति छ । उक्त पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम यही अवस्थामा एमसीसी पास गरेर जानुपर्ने पक्षमा अडिग छन् भने अध्यक्ष उपेन्द्र यादव सवैको सहमति चाहिने बताइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको विषयले सत्ता गठबन्धनमा परेको अप्ठ्यारोको लाभ लिने ध्याउन्नमा छ । उक्त पार्टीका अध्यक्ष केपी शर्मा आफ्नो नेतृत्वको सरकार हुँदा एमसीसी संसदबाट पास गर्नुपर्ने मात्र होइन कि , ‘बिनापरिमार्जन एमसीसी अनुमोदन गर्न हुन्न’ भन्नेहरुप्रति आक्रामक पनि थिए। राष्ट्रिय सहमति कायम गरेर मात्र यससम्बन्धी प्रक्रिया अघि बढाउँदा राम्रो हुन्छ भन्ने सभामुखको धारणालाई उनी ‘जाल’ र ‘छलकपट’ को संज्ञा दिन्थे।

महाधिवेशनपछि देउवा र ओली आ–आफ्नो पार्टीभित्र सर्वेसर्वा छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा एमाले (९८) र कांग्रेस (६३) को सांसद संख्या जोड्दा सहज रुपमा बहुमत (१६१) पनि पुग्छ। तर, प्रधानमन्त्री छँदा विनासर्त एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा रहेका ओली देउवालाई यतिबेला खुलेर सहयोग गर्न भने तयार छैनन् । यसमा उनले सत्ता गठबन्धन टुट्नुपर्ने मनासाय यस अगाडि नै सार्वजनिक गरिसकेका छन् ।

  • गठबन्धन कायम राखेरै एमसीसी पास गराउने देउवाको चाहना

प्रधानमन्त्री देउवा एमसीसीकै विषयलाई लिएर गठबन्धन टुक्रिन नहुने पक्षमा छन् । देउवाले गठबन्धन कायमै राखेर एमसीसी पास गर्नेमा जोड दिएको एक मन्त्रीले बताए । एमसीसीलाई मुख्य एजेण्डा बनाएर छलफल थालेपछि देउवाले आफुनिकट मन्त्री र नेताहरूलाई सत्तारुढ दलकै नेता र प्रतिपक्षी दलका नेताहरुसँग संवाद गर्न खटाएका छन् ।

देउवाले बुधबार विहानको छलफलअघि गृहमन्त्री बालकृष्ण खाँणलाई समाजवादी अध्यक्ष नेपालको निवास कोटेश्वर पठाएका थिए । यहीबीचमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पटक–पटक दाहाल निवास खुमलटार पुगेका थिए ।

बुधबारै देउवाले माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग दुई पटक छलफल गरे । विहान ११ बजे भएको छलफलमा देउवाले एमसीसीबारे असहमतिका बुँदाहरु मागेका थिए भने बेलुका ४ बजे पनि फेरि त्यही विषयमा उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

समाजवादी अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाले एमसीसीकै विषयलाई लिएर गठबन्धन नटुट्ने बताएको जानकारी दिए । बुधबार पार्टीका विभिन्न कार्यक्रममा बोल्दै नेता नेपालले गठबन्धन संघ र प्रदेशको चुनावसम्मै रहने बताए । ‘गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गरेका छौं,’ प्रधानमन्त्री र दाहालसँग भएको छलफलबारे नेपालले भने, ‘जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हितलाई केन्द्रविन्दुमा राख्दै हामीले अगाडि बढ्ने सोच बनाएका छौं ।’

गठबन्धन दलहरू एमसीसी पास गर्न एकमत भए सामान्य बहुमतले संसदबाट सहजै पास गराउन सक्छन् । दुई तिहाई मत पाउन भने एमालेको समर्थन आवश्यक पर्छ । तर, प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर एमालेको सहयोग लिए पनि सामान्य बहुमतमात्रै पुग्छ, दुई तिहाई पुग्दैन । ‘संसदमा सामान्य बहुमतले पास गर्ने वा दुई तिहाई भन्ने निश्चित छैन, सामान्य बहुमतले पारित गरे पछि संशोधन गर्न सकिन्छ, दुई तिहाईले गरे पछि संशोधन गर्न सकिन्नँ,’ एक सांसदले भने, ‘त्यसबारे पनि कुराकानी भइरहेको छ ।’

 

  • २० माघ २०७८, बिहीबार ०८:१८ प्रकाशित