अर्ली इलेक्सनको च्याप्टर क्लोजः एमाले भन्छ,‘वैशाखमै चुनाव हुनुपर्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ गठबन्धन आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । लामो समयदेखि अन्योलमा रहेको गठबन्धनले हिजो साँझ बैठक बस्दैँ जेठमा चुनाव गर्न आफुहरु तयार भएको बताएको हो ।

गठबन्धनका केही दल र नेताहरु स्थानीय निर्वाचन ६ महिना पछाडि सारेर पहिले संसदीय निर्वाचन गर्नुपर्ने भन्दै अडान लिइरहेको बेला गठबन्धनको दोस्रो बैठकले जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

गठबन्धन समन्वय समितिका सदस्य एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार संविधानको भावना अनुसार नै जेठमा निर्वाचन गर्न सहमति जुटेको बताउँछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल पनि जेठमा चुनाव गर्न तयार रहेको बताइएको छ। चुनाव धकेल्न लागी परेको आरोप यी दुई अध्यक्षलाई लागिरहेको अवस्थामा संविधानको र्मम अनुसार आफुहरु चुनाव गर्न तयार रहेको उनीहरुले हिजो बैठकमा बताएका छन् ।

२०७४ साल बैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतनिधिहरुको कार्यकाल २०७९ जेठ ५ गते सकिदैछ । सत्तारुढ गठबन्धनमा जेठ ५ पछिमात्रै स्थानीय निर्वाचन गर्ने सहमति बनेको छ ।

स्थानीय निर्वाचन जेठमा गर्ने सहमति बनेसँगै सत्तारुढ गठबन्धनले तत्कालका लागि अर्ली इलेक्सनको च्याप्टर क्लोज भएको जनाएको छ । सर्वोच्च अदालतको फैसला बमोजिम प्रतिनिधिसभा पूर्ण कार्यकाल चल्नुपर्ने देखिएकोले संसदको निर्वाचन चाडै गर्ने विषय टरेको नेताहरु बताउँछन् ।
यता प्रमुख प्रतिपक्षी एमालेले भने स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ ।

सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने बताएको हो ।

  • १६ माघ २०७८, आईतवार ०९:५५ प्रकाशित