मोरिसस विरुद्ध मैत्रीपूर्ण फूटबलमा नेपालको जीत

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल र मोरिसस बीच भएको मैत्रीपूर्ण फूटबलमा नेपालले जितेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा दुई वटा अवसर सदुपयोग गर्न नसकेको नेपाली टोलीले दोस्रो हाफ सुरु भएको केही बेरमै गोल गरेको हो। खेलको ५५ औं मिनेटमा सुमन लामाले दिएको पासमा विमल घर्तीमगरले नेपालका लागी गोल गरेका हुन् । विमलको यो गोल नै नेपालका लागि जितको लागि निर्णायक बन्यो ।

कोरोना महामारीका बावजुद शनिबार रंगशालामा नेपाली खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । कोरोना संक्रमण जोखिमका कारण दशरथ रंगशालामा एकतिहाइ (करिब ५ हजार) दर्शकहरूलाई मात्रै प्रवेश अनुमति दिइएको थियो।

एक दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा नेपालले निकालेको यो नै पहिलो जीत हो । अब मंगलबार नेपालले मोरिसससंग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने छ ।

 

  • १५ माघ २०७८, शनिबार १९:०० प्रकाशित