मन्त्रालय भन्छ,‘अझै एक करोड १४ लाख ४५ हजार खोप स्टक छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड १४ लाख ४५ हजार खोप अझै स्कट रहेको बताएको छ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा मन्त्री विरोध खतिवडाले एक सन्देश जारी गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन् ।

हालसम्म नेपालमा चार करोड २० लाख ४९ हजार ६४० मात्रा खोप विभिन्न विधिबाट भित्रिएकोमा ३ करोड ६ लाख ४ हजार १५२ मात्रा प्रयोग भइसकेको पनि मन्त्री खतिवडाले जनाएका छन् ।

उनका अनुसार यो एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जान्सन एन्ड जान्सन, मोडर्ना, फाइजर खोप प्रयोगमा आएको छ । पछिल्लो समय १२ वर्षमाथिका सबैका लागि खोप अभियान सुरु भएको पनि उनले प्रस्ट पारेका छन् ।

उनका अनुसार १८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको ७० प्रतिशतले पूर्णमात्रामा र ८३ प्रतिशतले कमसे कम एक मात्रा खोप लगाइसकेका छन् । १२ देखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६७० जनाले पहिलो मात्रा र तीन लाख ५८ हजार २९८ जना बालबालिकाले पूर्णमात्रा खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्री खतिवडाले जनाएका छन् ।

उनका अनुसार अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेशाका झण्डै तीन लाख जनालाई अतिरिक्त मात्रा खोप लगाइसकिएको छ ।

  • १४ माघ २०७८, शुक्रबार १७:०९ प्रकाशित