राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।१९ पदका लागि बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका हुन् । कुनै विघ्न बाधा आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगको अपेक्षा छ ।
मतदान अपराह्न ३ बजेसम्म हुनेत । त्यसपछि हुने मतगणनाको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गते सकिने भएकाले आज निर्वाचन गर्न लागिएको हो । आगामी फागुन २० मा नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरी १९ सदस्यको पदावधि समाप्त हुँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान अनुसार आज १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।

  • १२ माघ २०७८, बुधबार ०९:४७ प्रकाशित