त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

केन्द्रभाग मिडिया

पोखरा ।
विभागीय टिम त्रिभुवन आर्मी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन राजिब गुरुङले निर्णायक गोल गरे ।

तर, आर्मीले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

खेलको ७० औं मिनेटमा राजिबले गोल गरेका थिए ।

थ्री स्टारका डिफेन्डरको गल्तिमा जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरेका हुन् ।

अब सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाँच पटकको च्याम्पियन थ्री स्टार भने बाहिरिएको छ ।

मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।

  • ११ माघ २०७८, मंगलवार १८:२० प्रकाशित