आयल निगमले आइओसीलाई बुझायो १३ अर्बः अब मूल्य घट्ला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

घाटामा रहेको बताउँदै मुल्य वृद्धि गर्दै आएको नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई १३ अर्ब बढी रुपैयाँ बुझाएको छ ।

सञ्चित बचत शून्यमा झरेपछि निगमले सरकारसँग पैसा मागेर आइओसी भुक्तानी गरेको हो। निगमले मूल्य स्थिरिकरण कोषबाट एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले आज आइओसीलाई १३ अर्ब २० करोड पठाएको छ ।

सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये रु एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो । मूल्य स्थिरिकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग रु एक अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ ।

सरकारसँग पैसा मागेर जनवरी महिनाको दोस्रो किस्ता बुझाएका निगमका अधिकारी आइओसीलाई अर्को महिनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन् । निगमले रकम बुझाए पनि अझै पेट्रोलियम पदार्थमा बढेको मुल्य तत्काल घटी हाल्ने स्थिती भने नरहेको निगमले संकेत गरेको छ ।

  • १० माघ २०७८, सोमबार १३:१९ प्रकाशित