निर्वाचन धकेल्न भएको बहानाबाजी किमार्थ स्वीकार्य छैन : ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको निर्वाचन पर धकेल्न बहानाबाजी गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाले शक्रबार गरेको सम्बोधनमा पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले सरकारले निर्वाचनलाई सार्न गरेको बहाना स्वीकार्य नहुने जिकिर गरेका छन् ।

संविधानको एउटा धारालाई अरु धाराबाट अलग गरेर अप्रासङ्गिक रुपले उल्लेख गर्दै स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने नियतले गठबन्धन सरकार लोेकतन्त्रको मर्ममाथि प्रहार गर्न उद्यत देखिएको ओलीको आरोप छ ।

‘स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा (एमाले)को स्पष्ट, द्विविधारहित र दृढ अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोकाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुने छैन,’ विज्ञप्तिमा उनले भनेका छन् ।

आइतबार विज्ञप्ति प्रकाशित गर्दै ओलीले स्थानीय तहहरू जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबैभन्दा नजिकको सरकारको भूमिकामा रहेकाले स्थानीय तहलाई रिक्त राख्नु भनेको जनतालाई सेवा–सुविधाबाट बञ्चित तुल्याउनुसरह हुने बताएका छन् ।

‘स्थानीय तहको यसै महत्वलाई ध्यानमा राखेर नेपालको संविधानले जुनसुकै अवस्थामा पनि विघटन नहुने गरी पाँच वर्षे कार्यकाल सहितको स्थानीय तहको व्यवस्था गरेको हो र स्थानीय तह निर्वाचन ऐन, २०७३ मा कार्यकाल सकिनु दुई महिना अगावै निर्वाचन गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको हो,’ विज्ञप्तिमा ओलीले भनेका छन् ।

  • ९ माघ २०७८, आईतवार १३:५० प्रकाशित