काठमाडौंमा आज मध्यरातदेखि जोर बिजोरः कस-कसलाई लागू हुदैन ? (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं उपत्यकाभित्र दिनदिनै कडाई गरिदैँ गएको छ ।

स्मार्ट लकडाउनबाट सुरु भएको कडाई अब जोर बिजोर प्रणाली लागू गर्ने तयारी जिल्ला प्रशासन लागेका छन् राजधानीका तीन जिल्ला प्रशासनले शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागू गर्ने भएको हो ।

सार्वजनिक र निजी सवारी साधनहरु दुई पांग्रे सहित जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्न पाइनेछ ।

सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने तीनवटै जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन चालक र सहचालक मात्र, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र)लाई भने जोर बिजोर प्रणाली लागू हुने छैन ।

यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैक, बीमा, बित्तीय संस्था र वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

यसैगरी सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, र कुटनैतिक नियोगका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू नहुने बताइएको छ ।

  • ७ माघ २०७८, शुक्रबार १४:३७ प्रकाशित