गण्डकीका नाकामा छिट्टै होल्डिङ सेन्टर बनाइने

केन्द्रभाग मिडिया

पोखरा।

गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरुमा प्रदेश सरकारले कडाई गरेको छ । प्रदेश सरकारले प्रदेशका नाकामा होल्डिङ सेन्टर बनाइने भएको छ ।

प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीमा हेल्प डेस्क सुरु भइसकेको र अब छिटै नै होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् ।

भारतबाट प्रदेश प्रवेश गर्ने त्रिवेणी नाकामा समेत कर्मचारी खटाएर हेल्प डेस्क सुरु भइसकेको छ । बाहिरी मुलुक खासरी भारतबाट गाडीमा यस प्रदेशमा आउनेको संख्या उल्लेख्य रहेकाले उनीहरुको स्वास्थ्य परीक्षण र खोप कार्ड निरीक्षणलाई सरकारले कडाइ गरेको छ ।
यस्तै मुख्यमन्त्री पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं, कहिँकतै जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’

नवलपुर लगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा पिसिआर परीक्षण रोकिएको खबर पाए लगत्तै २ कर्मचारी पठाएको र बिहीबारबाटै उनीहरुले काम थाल्ने मुख्यमन्त्रीको भनाइ थियो । तेस्रो लहरको नियन्त्रणकै लागि प्रदेश सरकारले ३ सय ५० जना स्वास्यकर्मी करारमा लिएर सम्बन्धित अस्पतालहरुमा पठाइएको उनले बताए ।

महामारीका बेला अक्सिजन प्लान्ट दुरुस्त राख्न, आइसोलेसन बेड र अपस्पतालहरु तयारी हालतमा राख्न पनि उनले निर्देशन दिए ।

  • ६ माघ २०७८, बिहीबार १०:२८ प्रकाशित