गण्डकीमा सार्वजनिक यातायातको भाडा समायोजन, यस्तो छ समायोजन दर (भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा सर्वजनिक यातायातको भाडा समायोजन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडा समायोजन गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए।

गण्डकी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गरिएको हो । समायोजित भाडा दर अनुसार प्रदेशभित्र लामो दुरीमा चल्ने बसमा यात्रुले अब थप २३. ५१ प्रतिशत भाडा तिर्नुपर्नेछ ।

नगर बसमा यात्रा गर्दा सेवाग्राहीले अब थप २२.५५ प्रतिशत तिर्नुपर्नेछ । ट्रकको भाडा पनि १४.५७ प्रतिशत बढेको छ । ट्याक्सीमा मिटर प्रणाली लागुभएको छ ।

ट्याक्सीमा भाडा समायोजन  भइ  फ्ल्यग डाउनमा ८० र प्रत्येक २०० मिटरमा १० भएको छ। फ्ल्याग डाउनमा पल्स सिस्टममा सुरुको ८० र त्यस पछि १५ किलोमिटरसम्म थप दुइ सय मिटरमा १० रुपैया थपिदै जाने छ । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम लागू हुने छैन । १५ किलोमिटर माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैया ५० पैसाका दरले भाडा तिर्नुपर्ने छ ।

संघ सरकारले यसअघि नै भाडादर वृद्धि गरे पनि गण्डकीमा समायोजन हुन सकेको थिएन । संघीय सरकारले देशभर २८ प्रतिशत भाडा बृद्धि गरेको छ ।

गण्डकी प्रदेशले भौतिक पूर्वाधार सहरीविकास तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा भाडा सिफारिस समिति गठन गरेर समितिको सिफारिस अनुरुप नै भाडा समायोजन गरेको हो ।

यातायात मन्त्री खड्काले भाडा दर बढेपनि यात्रुले विगतमा तिर्दै आएको भन्दा थप भाडा तिर्नु नपर्ने दाबी गरेका छन् ।

  • ४ माघ २०७८, मंगलवार ०७:४० प्रकाशित