मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिदैँ देउवाः यी नेताको नाम चर्चामा !

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने भएका छन् ।

देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी देउवाले छलफल सुरु गरेका छन् ।दुई मन्त्रीले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्री बिहीन बनेको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको हो । सोही मन्त्रालयमा देउवाले नयाँ नियुक्ति गरेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको भन्दै विवाद भएपछि मन्त्री हमालले राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय देउवाले नै सम्हाल्दै आएका छन् ।

यस्तै१४ औं महाधिवेशनमा महामन्त्रीमा पराजय भएपछि रिजालले पनि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले सम्हालेका छन् ।

रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सत्तारूढ दलहरूबीच हानथाप चलेको छ । देउवाले राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योगमन्त्री बनाउने चर्चा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तेजुलाल चौधरीको नाम देउवा समक्ष राखेका छन् ।

यस्तै मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा महाधिवेशनमा प्रकाशमान सिंहले लगाएको गुन तिर्नका लागि देउवाले उनलाई नि मन्त्रालय दिन देखिएका छन् ।

शनिबार अपरान्ह नेता प्रकाशमान सिंहलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका देउवा र सिंहबीच करिब १ घण्टा छलफल भएको बताइएको छ।सिंह सरकारमा सहभागी नभएको खण्डमा उनको सिफारिसमा राजन केसीलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

सिंह मन्त्री बन्न तयार भए उपप्रधानसहित गृहमन्त्री बनाउने सम्भावना छ । वर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्रीको जिम्मेवारी दिने सकिने देउवाले संकेत गरेका छन् ।

प्रधानमन्त्री सचिवालयका लागि यी नेताको चर्चा

यसैबीच प्रधानमन्त्री देउवाले सचिवालयलाई समेत पूर्णता दिने भएका छन् ।

सरकार बनेको ६ महिना हुँदा उनले सचिवालयमा तीन जनालाई मात्र नियुक्त गरेका छन् । जसअनुसार प्रमुख स्वकीय सचिवमा देउवाले भानु देउवालाई नियुक्त गरेका छन् भने प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्रा.डा.आरपी विच्छा नियुक्त भएका छन् ।

प्रधानमन्त्री देउवाको प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी रहेको बताइएको छ।आर्थिक मामिला सल्लाहकारमा अर्थविद डा। पोषराज पाण्डेको नाम चर्चामा छ । यस्तै प्रेस सल्लाहकारमा गेजा शर्मा वाग्लेको नाम चर्चामा छ ।

  • ३ माघ २०७८, सोमबार १५:४५ प्रकाशित