धादिङ अपडेट : बाटो खन्दा पुरिएका तीन जनाको अवस्था अज्ञात

केन्द्रभाग मिडिया

काठमाडौं ।

धादिङमा हिजो बिहान बाटो खन्ने क्रममा डोजरलाई माथिबाट खसेको पहिरोले पुर्दा बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन । पहिरोमा पुरी बेपत्ता भएका तीन जनाको खोजतलास गर्न सेनासहितको थप जनशक्ति परिचालन भएको छ।

बिहीबार बिहान करिब साढे ७ बजे रूबीभ्याली गाउँपालिका-१ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न थप जनशक्ति परिचालन भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। शुक्रबार पनि बिहानै देखि बेपत्ता भएकाहरूको खोजी भइरहेको छ । तर अझै पनि बेपत्ताहरुको अवस्था अज्ञात रहेको छ।

काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बेपत्ता छन्। उनीहरूले सडकको ट्र्याक खनिरहेको अवस्थामा पहिरो खसेको हो।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जम्मा ३६ जना मिलेर खोजी गर्ने काम भइरहेको छ ।

  • ३० पुष २०७८, शुक्रबार १४:३९ प्रकाशित