जनस्वास्थ्यविद्को चेतावनीः ‘अबको एक सातामा संक्रमित संख्या १० हजार पुग्न सक्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले दिनदिनै अनियन्त्रित रुपमा कोरोना संक्रमण फैलिएकाले अबको केही सातामै संक्रमितको संख्या १० हजार माथि पुग्न सक्ने चेतावनी दिएका छन् ।

एक कार्यक्रममा बोल्दैँ उनले सो कुरा बताएका हुन् । उनले भनेका छन्,‘तथ्यांक आफै बोल्छ । दैनिक ३० जना कोरोना संक्रमितबाट ३५, ३६ सय पुगिसक्यो । अबको ७ दिनमा १०(१२ हजार पुग्न सक्छ । ’

उनले अब गाउँगाउँमा खोप अभियान लैजानु पर्ने बताएका छन् । ‘गाउँगाउँमा खोप अभियान लैजानुपर्छ । महामारी सबभन्दा सस्तो र प्रभावकारी उपाय भनेकै खोप हो । अब नागरिकले नै खोप खोज्दै लगाउनुपर्यो ।’ उनले भनेका छन्

मरासिनीले दुवै डोज खोप र मास्क लगाउँदा कोरोना नियन्त्रणमा सहयोग पुग्ने पनि औंल्याए । उनले भने, ‘अबको सय दिन मास्क अनिवार्य गर्नुपर्छ । मास्क नलगाउनेलाई ठाउँको ठाउँ जरिवाना गर्नुपर्छ । यसलाई कडाई गर्न जनस्वास्थ्य कानुन लगाउनुपर्छ ।’

उनले थपे, ‘त्रिभुवन विमानस्थलको निगरानी ठीकै छ । ठूला सीमा नाकामा दुवै कारोना खोप र पीसीआर नेगेटिभ मान्छेलाई मात्र प्रवेश दिनुपर्छ । नभए १०, १५ दिन क्वारेन्टाइनमा राख्नुपर्छ ।’

देशभित्र आउने र जाने दुवैलाई निगरानीमा राख्नुपर्ने उनको भनाइ छ ।कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले तत्काल जनस्वास्थ्य कानुन लगाउनुपर्ने बताएका छन् ।उनले संक्रमण तीव्र गतिमा फैलँदा लकडाउन आवश्यक हुन सक्ने पनि औंल्याए ।

  • ३० पुष २०७८, शुक्रबार १०:०९ प्रकाशित