टाइगर कप भलिबलः आर्मी र हेल्प नेपाल विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

दोस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगता अन्तरगत बिहिबार तीन खेल सम्पन्न भएका छन् । महिला तर्फ त्रिभुवन आर्मी क्लवब, पुरुष तर्फ पनि त्रिभुवन आर्मी र हेल्प नेपालले जित निकालेका छन् ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा महिला तर्फ त्रिभुवन आर्मी क्लबले आयोजक टाइगर ग्रुप पोखरालाई ३–० को सोझो सेटमा हाउदै अगाडीको यात्र तय गरेको हो ।

आर्मीले टाइगरमाथि २५–२२, २५–१९ र २६–२४ को जित निकालेको हो ।

यस जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

टाइगरको यो लगातार तेस्रो हार हो ।

महिलातर्फ नै न्यु डायमण्ड र नेपाल पुलिसबीचको खेल भने स्थगित भएको छ । खराब प्रकाशको कारण देखाउदैँ चौंथो सेट चलिरहदा खेल स्थगित गरिएको हो ।

यस खेलमा न्यु डायमण्ड २–१ ले अघि रहेको छ । चौंथो सेटमा पुलिस ११–८ ले अघि रहेको छ ।

आयोजकले दुबै टोलीसँग छलफल गरेर बाँकी खेलको टुंगो लगाउने बताएको छ ।

पुरुष तर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै दोस्रो जित निकालेको छ ।

आर्मीले गण्डकीमाथि २५–१५, २०–२५, २५–१५ र २६–२४ को सेटमा जित निकालेको हो ।

जितसँगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ । गण्डकीको यो दोस्रो हार हो ।

आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई हराएको थियो । तर, दोस्रो खेलमा हेल्प नेपालसँग पराजित भएको थियो ।

पुरुष तर्फको अर्को खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै दोस्रो जित निकालेको छ ।

पहिलो सेट २५–२३ ले गुमाएको हेल्पले त्यसपछिको सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो । हेल्पले दोस्रो सेट २५–२०,तेस्रो सेट २५–१५ र चौंथो सेट २५–१९ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

यस जितसँगै हेल्पले ७ अंक जोडेको छ । हेल्प दोस्रो स्थानमा रहेको छ ।

एपीएफ भने अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

 

  • २९ पुष २०७८, बिहीबार १८:२१ प्रकाशित